महोत्तरीमा विशेष कार्यक्रमसहित प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी र सहिद परिवारलाई सम्मान

नवीन चौधरी – जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज विशेष कार्यक्रम आयोजना गरी ७०औँ प्रहरी दिवस धुमधामका साथ मनाएको छ । कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिसालले देश र जनताको सुरक्षाका लागि समर्पित सम्पूर्ण प्रहरीहरूलाई प्रहरी दिवसको हार्दिक शुभकामना व्यक्त गर्दै जिम्मेवारीपूर्वक र इमानदार भएर काम गर्न अनुरोध गर्नुभयो । उहाँले प्रहरी जनताको सुरक्षाको पहिलो पंक्तिमा खटिने राज्यको मुख्य सुरक्षा निकाय भएको बताउँदै “प्रहरीको अनुशासन, इमान र निष्ठा नै संस्थाको पहिचान हो,” भन्नुभयो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्भ शर्माले देश र जनताको सुरक्षाका लागि नेपाल प्रहरी सधैं अग्रपंक्तिमा खटिएको उल्लेख गर्दै देशका लागि ज्यान बलिदान गर्ने अमर प्रहरीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले सहिद प्रहरीहरूको योगदानले आजको प्रहरी संगठनलाई बलियो बनाएको बताउँदै “अमर प्रहरीहरू हाम्रो गौरव हुन्, उनीहरूको सम्झनाले हामीलाई थप जिम्मेवार बनाउँछ,” भन्नुभयो ।

प्रहरी दिवसको अवसरमा उत्कृष्ट कामका लागि प्रहरी नायब उपरीक्षक सैलेन्द्र भट, प्रहरी निरीक्षक अशोक झा, नन्दकिशोर चौहान लगायत दर्जनौं प्रहरीलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

त्यसैगरी देशका लागि ज्यान आहुति दिने अमर प्रहरीका परिवारलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विगतमा सेवा पुर्याएका पूर्व प्रहरीहरूलाई पनि सम्मान गरी संगठनप्रतिको योगदानको कदर गरिएको थियो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले प्रहरी दिवसलाई अवसर मानेर समुदायसँगको सहकार्य र विश्वास अझ बलियो बनाउने प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





