महोत्तरी — जिल्ला प्रहरी कार्यालय महोत्तरीले एक करोड ३० लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मटिहानी नगरपालिका–७ बस्ने जगन्नाथ दास बैष्णवविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान अघि बढिरहेको थियो। उक्त प्रकरणमा एक करोड ३० लाख रुपैयाँ बराबरको बिगो कायम भएको बताइएको छ।
घटनापछि फरार रहेका बैष्णवलाई प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मटिहानी नगरपालिका–७ बाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक बिश्वम्भर नाथ साहले प्रेस विज्ञप्ति जारी गर्दै फरार अभियुक्तलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।