महोत्तरी — जिल्ला प्रशासन कार्यालय महोत्तरी को टोलीले जिल्लाभित्र रहेका विभिन्न सरकारी कार्यालयहरूमा छड्के अनुगमन गरेको छ। सेवाग्राहीको गुनासो तथा सेवा प्रवाहमा भइरहेको ढिलासुस्तीबारे प्राप्त सूचनाको आधारमा अनुगमन गरिएको प्रशासनले जनाएको छ।
अनुगमनका क्रममा कर्मचारीहरूको उपस्थिती अवस्था, सेवा प्रवाहको गुणस्तर, सेवाग्राहीप्रति गरिने व्यवहार तथा अभिलेख व्यवस्थापनको अवस्थाबारे स्थलगत अवलोकन गरिएको थियो।
टोलीले सम्बन्धित कार्यालय प्रमुखहरूलाई सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन निर्देशन दिएको छ। साथै सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न, तोकिएको समयमै सेवा उपलब्ध गराउन तथा गुनासो व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन जोड दिइएको छ।
यसैबीच, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव ले अनुगमनलाई सेवा सुधारको महत्वपूर्ण माध्यमका रूपमा लिँदै भने, “सेवाग्राहीले सहज, छिटो र पारदर्शी सेवा पाउनुपर्छ भन्ने हाम्रो प्राथमिकता हो। कुनै पनि कार्यालयमा लापरबाही वा ढिलासुस्ती पाइएमा सहन गरिने छैन।”
प्रमुख जिल्ला अधिकारी यादवले अनुगमनलाई निरन्तरता दिइने र कमजोरी दोहोरिए कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारे। साथै उनले सबै सरकारी निकायलाई जिम्मेवार र नागरिकमैत्री भएर सेवा दिन आग्रह गरेका छन्।