जलेश्वरमा लामखुट्टे नियन्त्रण अभियान सुरु, सबै वडामा फोगिङ स्प्रे गरिने

महोत्तरी –महोत्तरीको जलेश्वर नगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि फोगिङ स्प्रे अभियान सुरु गरेको छ। नगरपालिकाले नगरभरि बढ्दो लामखुट्टे–जन्य रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित उक्त अभियान सञ्चालनमा ल्याएको जनाएको छ।

नगरपालिकाका अनुसार १२ वटै वडामा चरणबद्ध रूपमा फोगिङ स्प्रे गरिनेछ। बिहान र साँझको उपयुक्त समयमा सञ्चालन गरिने फोगिङ कार्यक्रममार्फत बस्ती, बजार क्षेत्र, विद्यालय परिसर, सार्वजनिक स्थल तथा उच्च जोखिम मानिएका संवेदनशील क्षेत्रहरूलाई प्राथमिकताका साथ समेटिनेछ।
हालका दिनहरूमा मौसम परिवर्तनसँगै लामखुट्टेको संख्या बढ्दै जाँदा डेंगु, मलेरिया लगायतका रोग फैलिने सम्भावना उच्च रहेकाले समयमै नियन्त्रण गर्न यस्तो अभियान आवश्यक भएको नगरपालिकाको भनाइ छ।
जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार ले लामखुट्टे नियन्त्रण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिने बताएका छन्। उनले भने, “नगरबासीको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो। लामखुट्टे–जन्य रोग फैलिन नदिन फोगिङ स्प्रे अभियान सुरु गरेका हौँ, यसलाई सबै वडामा प्रभावकारी रूपमा विस्तार गर्नेछौँ।”
उनले नगरबासीलाई आफ्नो घर वरिपरि पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने र अभियानलाई सफल बनाउन सहयोग गर्न समेत आग्रह गरेका छन्।

जलेश्वर नगरपालिकाले सञ्चालन गरेको यस नगरस्तरीय अभियानले लामखुट्टेको प्रकोप नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, नगरबासीलाई सरसफाइमा ध्यान दिन र वातावरण स्वच्छ राख्न निरन्तर सचेतना अभियान पनि सञ्चालन गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





