महोत्तरी –  देशभर लगातार भएको अविरल वर्षा  र बाढीले जनजीवन प्रभावित बनाएपछि  मनराशिसवा नगरपालिकाका विभिन्न क्षेत्रमा बाढीका कारण क्षतिग्रस्त भएका सडकहरूको मर्मत कार्य भइरहेको छ ।

नगर प्रमुख मोहन पाण्डेयको पहलमा सोनौल–झिंगास्थान, साँडा सडक तथा खुसनगरी क्षेत्रका सडकहरूमा मर्मत कार्य सम्पन्न भएको मनरा शिस्वा नगरपालिकाले जनाएको छ। हालैको बाढीले सडकहरूमा ठूलो क्षति पुर्‍याउँदा स्थानीयवासीको दैनिक आवागमनमा समस्या परेको थियो।

नगरपालिकाले अस्थायी र स्थायी दुबै खालका मर्मत कार्य अगाडि बढाएको छ। सडकमा फसेको पानी निकास, माटो र ग्राभेल फिलिङ, र भत्किएका भागको पुनः निर्माण कार्य तीव्र रूपमा गरिएको हो।

नगर प्रमुख पाण्डेयले भने, “प्राकृतिक विपत्तिले जनजीवन कष्टकर बनेको छ। नगरपालिकाले राहतसँगै पूर्वाधार पुनःस्थापनामा पनि प्राथमिकता दिएको छ।”

सडक मर्मत सम्पन्न भएपछि स्थानीयवासीहरूले सहज आवागमन हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूले नगरपालिकाको तत्काल ध्यान र सहयोगप्रति धन्यवाद समेत व्यक्त गरेका छन्।