प्रादेशिक अस्पताल जलेश्वरमा स्वास्थ्य सेवा सम्बन्धी संसदीय समिति को निगरानी


महोत्तरी, १२ असार – महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा आज स्वास्थ्य सेवा सम्बन्धी संसदीय निगरानी कार्यक्रम गरिएको छ ।
मधेश प्रदेश सरकारको महिला बालबालिका तथा सामाजिक न्याय समिति एवं अर्थ तथा योजना समितिको संयुक्त आयोजना, यूएनडीपीको सहयोग एवं पिपल प्रमोट सेन्टरको समन्वय एवं सहकार्यमा प्रादेशिक अस्पताल जलेश्वरमा स्वास्थ्य सेवा सम्बन्धी संसदीय निगरानी कार्यक्रम गरिएको हो ।
मधेश प्रदेश सरकारको महिला बालबालिका तथा सामाजिक न्याय समितिको सभापति एवं प्रदेश सभासदस्य रुपा कुमारी यादवको नेतृत्वमा प्रदेश सभासदस्यहरु क्रमशः अनिता कुमारी साह, शारदा थापा, अंजना पंडित, किरण कुमारी, हसिना खातुन, भाग्यश्री चौधरी र कुमरकान्त झा सहभागी टोलीले आज प्रादेशिक अस्पताल जलेश्वरको स्थलगत अनुगमन निरीक्षण गर्दै जलेश्वर प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवा र स्वास्थ्य संस्थाहरुको कार्य सञ्चालनको अवलोकन, सरोकारवालाहरु, प्रयोगकर्ता, सेवाग्राही जनता, र प्राविधिकहरुसँग अन्तरक्रिया गर्नुका साथै महोत्तरी जिल्लाको विद्यमान स्वास्थ्य अवस्था र चुनौतीबारे संसदीय निगरानी कार्यक्रम गरिएको हो ।
सो क्रममा संसदीय समितिले प्रादेशिक अस्पताल जलेश्वरमा सञ्चालित ओपीडी सेवा, आपतकालिन सेवा, फार्मेसी, प्रयोगशाला, उपकरण, कार्यक्षमता र पूर्वाधारको स्थलगत निरीक्षण गरेको छ भने सरोकारवाला कर्मचारी, बिरामी र अधिकारीहरुसँग अन्तरक्रिया गरेको छ ।
त्यसैगरी समितिले जनप्रतिनिधि र बिरामीहरुबाट स्वास्थ्य सेवाको पहुँच र गुणस्तरबारे सार्वजनिक परामर्श गरेको छ भने प्राविधिकहरुसँग अन्तर्वाता गर्दै उपकरण मर्मत र कार्य क्षमताबारे प्राविधिक मुल्याँकन समेत गरेको छ ।
समितिको स्थलगत अनुगमन निरीक्षण पश्चात प्रादेशिक अस्पताल जलेश्वरका प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विकास साह र व्यवस्थापन समितिका अध्यक्ष मिनु झाले अस्पतालमा रहेको औषधी अभाव, जनशक्ति अभाव, जनशक्ति परिचालन गर्न, बिरामीलाई खाना तथा औषधी खरिद गर्न रहेको आर्थिक अभाव, प्रयाप्त भौतिक संरचनाको बाबजुद राजनीतिक कारणले गर्दा यस अस्पताललाई ५० बेडको अस्थायी घोषणा गरिसकेपनि अहिलेसम्म स्थायी रुपमा स्तरोन्नति गर्न नसकेको कुरा तथा यहाँका अन्य विभिन्न समस्याहरुलाई प्रदेश सभामा सम्बोधन तथा कार्यान्वयन गराइदिनुहुनका लागि समितिलाई आग्रह गर्नुभयो ।
सोही क्रममा जलेश्वर प्रादेशिक अस्पताल सञ्चालित वडा जलेश्वर नगरपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष बरुण कुमार दाहालले यस अस्पतालमाथि लागेको रेफर अस्पतालको धब्बा मेटाएर २४ घण्टा जनताको सेवामा समर्पित अस्पतालको रुपमा पहिचान स्थापित गराउनका लागि निगरानी समितिलाई आवश्यक सबै आर्थिक एवं प्राविधिक सहयोग गर्न गराउन आग्रह गर्नुभयो ।
प्रादेशिक अस्पताल जलेश्वरको स्थलगत अनुगमन निरीक्षण गरेको निगरानी समितिका सबै सदस्यहरुले आ आफ्नो तर्फबाट प्रदेश सरकारमा जलेश्वर अस्पतालको सबै समस्याहरु संसदमा उठाउने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता प्रकट गर्नभयो ।
त्यस्तै मधेश प्रदेश सरकारको महिला बालबालिका तथा सामाजिक न्याय समितिको सभापति एवं प्रदेश सभासदस्य रुपा कुमारी यादवले निगरानी कार्यक्रमको समीक्षा गर्नुहुँदै यस अस्पतालमा रहेको पूर्वाधारको कमी, सेवा अवरोधका तत्व, कर्मचारी र बिरामीका गुनासा, उपकरण, दक्ष जनशक्ति, औषधी अभाव र अस्पतालका लागि आवश्यक बजेट अन्य सबै समस्याहरुलाई समाविष्ट गरी यस निगरानी समितिले एउटा प्रतिवेदन बनाएर सम्बोधन तथा कार्यान्वयनको लागि प्रदेश सभा (संसद) पेश गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।
कार्यक्रममा युएनडीपीका संसदीय मामिला अधिकारी बिटु श्रीवास्तव, पिपल प्रमोट सेन्टरका विशेषज्ञहरु रोहित कुमार यादव, प्रेमकान्त झा र अध्यक्ष कमलेश कुमार मण्डलले कार्यक्रमको उद्देश्य, प्रभावकारिता र उपलब्धीबारे प्रकाश पार्नुभएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

