विश्व योग दिवसको अवसरमा महोत्तरी को मनराशिसवा नगरपालिकाले वृहत् योग शिविर आयोजना गरेको छ । मनराशिसवाले दुर्गा माविको प्राङ्गणमा एघारौं अन्तर्राष्ट्रिय विश्व योग दिवस मनाएको छ ।
नगर प्रमुख मोहन पाण्डेले ‘ एक पृथ्वी स्वास्थ्य का लागि योग ’ भन्ने मूल नाराका साथ एघारौं विश्व योग दिवसको अवसरमा वृहत् र विशेष योग शिविरको आयोजना गरिएको जानकारी दिनुभयो । यस अवसरमा शिक्षक विद्यार्थी, राजनीतिकर्मी, नगर कार्यापालिकाका पदाधिकारी, कर्मचारी, स्वास्थ्यकर्मी, नागरिक समाज तथा योग प्रेमीसमेत योग शिविरमा हजारौं को सहभागिता रहेको पालिकाले जनाएको छ।
मनराशिसवा नगरपालिकाका विद्यालयमा विगत ३ वर्षदेखि प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म नियमित योग अभ्यास हुँदै आएको छ । पालिकाले योग दिवसको अवसरमा सहभागीलाई स्वास्थ्य जीवन यापन गर्न र निरोगी बन्नका लागि २१ आसनको अभ्यास गराएको थियो ।
करिब तीन घण्टा लामो योग शिविरमा कपालभाती, अनुलोम विलोम, भ्रामरी, शीतलीलगाएतका अभ्यासका साथै त्रिकोणासन, ताडासन, भद्रासन, वज्रासन लगायतका जीवनोपयोगी आसनको प्रशिक्षणका साथै भावपूर्ण प्रार्थनाको समेत अभ्यास गराइएको नगर प्रमुख मोहन पाण्डेले बताउनुभयो । उहाले नियमितरूपमा योग गर्दा पालिका भित्रका धेरै जनालाइ मधुमेह , उच्च रक्तचाप लगाएतका अनेको रोगबाट छुटकारा मिलेको बताउनुभयो ।

योग गुरुले आसन र प्राणायामको परिचय, त्यसबाट हुने फाइदा र अभ्यासका तरिकाबारे प्रयोगात्मक ढङ्गले प्रशिक्षण दिएको थियो ।
“शरीर, मन, बुद्धि र आत्मशुद्धिका लागि अपरिहार्य मानिएको योगाभ्यासलाई जनस्तरसम्म फैलाउने उद्देश्यले मनराशिसवा नगरपालिकाले निःशुल्क योग शिविर आफ्नो प्रतेक वाडामा समेत संचालन गर्दै आइरहेको छ ।