नविन चौधरी  , महोत्तरी । नेपाल विद्युत प्राधिकरण जलेश्वर वितरण केन्द्रको लापरवाहीका कारण जलेश्वर र वरपरका क्षेत्रमा लगातार ८ देखि १० घन्टासम्म विद्युत सेवा अवरुद्ध हुँदा सर्वसाधारणले चरम सास्ती भोग्नुपरेको छ। गर्मीको चर्को समयमा विद्युत आपूर्ति बिना सूचना बन्द हुँदा घरायसी कार्यदेखि व्यवसायिक कामकाजमा समेत असर परेको छ।

स्थानीय बासिन्दाका अनुसार बिहानैदेखि विद्युत सेवा अवरुद्ध रहँदा न त प्राधिकरणले कुनै पूर्वसूचना दिएको छ, न त कार्यालय प्रमुख वा अन्य कर्मचारीसँग सम्पर्क गर्न सकिने अवस्था छ। “कार्यालयको सम्पर्क नम्बरमा पटकपटक फोन गर्दा समेत उठाइएको छैन,” एक स्थानीय व्यापारीले भने।

जलेश्वर लगायत आसपासका क्षेत्रमा गर्मी चरममा पुगिरहेको अवस्थामा विद्युत आपूर्ति रोकिँदा  अस्पताल, पसल तथा घरायसी कार्यमा प्रतिकूल प्रभाव परेको जनगुनासो छ। स्थानीय व्यापारी, विद्यार्थी र सेवाग्राहीहरू आक्रोशित छन्। जलेश्वर वितरण केन्द्रले गर्मीको समयमा बिना कुनै जानकारी दिनको ४ देखि ५ घन्टा सम्म यसरी विद्युत कटाैती गर्दै आइरहेको छ ।

नेपाल विद्युत प्राधिकरण ले हरेक किसिमको नियमित मर्मत, मेशिन फेल, वा आपतकालीन अवरोधबारे अग्रिम सूचना दिनुपर्ने कानुनी दायित्व भए पनि जलेश्वर वितरण केन्द्रले सो जिम्मेवारी पुरा नगरेको जनगुनासो बढ्दो छ।

“सूचना बिना बत्ति काट्नु अत्यन्तै गैरजिम्मेवार कार्य हो,” स्थानीय उपभोक्ता समितिका एक सदस्यले भने, “यस्तो व्यवहारले उपभोक्तामा वितृष्णा मात्र फैलाउँछ, जवाफदेही प्रणाली निर्माण आवश्यक छ।”