“महोत्तरी महात्म” एक दिवसीय वैचारिक तथा सांस्कृतिक कार्यक्रम जलेश्वरमा आयोजना हुँदै


जलेश्वर, महोत्तरी – नेपाल–भारत मैत्री युवा संघ तथा संवाद फाउन्डेशनको संयुक्त आयोजनामा “महोत्तरी महात्म” शीर्षकमा एक दिवसीय वैचारिक, सांस्कृतिक तथा ऐतिहासिक संवाद तथा विचार कार्यक्रम आगामी शुक्रबार, २ जेठ २०८२ गते महोत्तरी जिल्लाको ऐतिहासिक सहर जलेश्वरको बुद्धिजीवी चौकमा सम्पन्न हुने भएको छ।
कार्यक्रमको मुख्य उद्देश्य महोत्तरी जिल्लाको सांस्कृतिक, ऐतिहासिक र वैचारिक पहिचानलाई उजागर गर्नुका साथै नेपाल–भारतबीचको पारस्परिक मित्रता र सहयोगलाई थप मजबुत बनाउनु रहेको आयोजकहरूले बताएका छन्। विशेष गरी युवा पुस्तालाई संवाद, विचार र चिन्तनतर्फ आकर्षित गर्दै आफ्नै जिल्लाको गौरवशाली इतिहासप्रति गर्व महसुस गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमलाई अर्थपूर्ण र प्रभावकारी बनाउन संवाद फाउन्डेशन महोत्तरीका अध्यक्ष सुमन चौधरी नेतृत्व गरिरहेका छन्। अध्यक्ष चौधरीका अनुसार, “महोत्तरी महात्म हाम्रो जिल्लाको आत्मसम्मानसँग जोडिएको अभियान हो। यसमार्फत हामी हाम्रो स्थानीय संस्कृति, इतिहास र सामुदायिक एकतालाई उजागर गर्न चाहन्छौं।”
नेपाल–भारत मैत्री युवा संघका प्रतिनिधिहरूको समेत सहभागिता रहने उक्त कार्यक्रममा जिल्लाका समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मी, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति अपेक्षित गरिएको छ। कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुने अनुमान गरिएको छ।
संवाद फाउन्डेशन र नेपाल–भारत मैत्री युवा संघले सबै महोत्तरीवासीलाई कार्यक्रममा सहभागिता जनाई जिल्लाको गौरवमा योगदान पुर्याउन हार्दिक अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

