महोत्तरीमा तीन पिकअप ‘चाइनिज स्याउ’ बरामद

महोत्तरी — सशस्त्र प्रहरी बलले महोत्तरीको सीमावर्ती क्षेत्रमा भारततर्फ तस्करी हुँदै गरेको ठूलो परिमाणको ‘चाइनिज स्याउ’ बरामद गरेको छ। शनिबार राति करिब १ बजे विशेष सूचनाका आधारमा खटिएको टोलीले शंकास्पद रूपमा गुडिरहेका तीन वटा पिकअप गाडी रोकेर जाँच गर्दा उक्त स्याउ नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ती स्याउहरू भन्सार छल्दै अवैध रूपमा भारततर्फ लैजान लागिएको खुलेको छ। बरामद गरिएको स्याउको परिमाण ठूलो रहेको र त्यसको बजार मूल्य लाखौं रुपैयाँ बराबरको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, यसको आधिकारिक मूल्याङ्कन प्रक्रिया भने जारी रहेको जनाइएको छ।
घटनामा संलग्न चालक तथा सहयोगीहरूमाथि सोधपुछ भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। साथै, उक्त स्याउ एक ‘सुनिल’ नामका व्यापारीसँग सम्बन्धित हुन सक्ने प्रारम्भिक जानकारी प्राप्त भए पनि उनको पूर्ण परिचय खुलाउन तथा अन्य संलग्न व्यक्तिहरूको पहिचान गर्न थप अनुसन्धान भइरहेको छ।
पछिल्लो समय सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले गस्ती तथा निगरानी बढाउँदै आएको छ। बरामद गरिएको स्याउ तथा सवारीसाधन आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ। सुरक्षा निकायले यस्ता अवैध गतिविधिमाथि कडाइ गर्दै अनुसन्धानलाई तीव्र बनाउने जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





