नबिन चौधरी ,महोत्तरी — प्रादेशिक अस्पताल जलेश्वर नजिकै रहेका दर्जनौं औषधि पसलहरू दिनभरि बिरामी तान्न व्यस्त हुन्छन् , तर राती १० बजेपछि सबै पसल बन्द हुने गरेको पाइएको छ। यसले गर्दा आकस्मिक रूपमा उपचारका लागि रातको समयमा अस्पताल पुग्ने बिरामीहरू ठूलो समस्यामा पर्ने गरेका छन्।

अस्पताल परिसरभित्र रहेको सरकारी फार्मेसीमा सीमित औषधि मात्र उपलब्ध हुने हुँदा त्यसभन्दा बाहिरका औषधिहरूको आवश्यकतामा बिरामी र उनका आफन्तहरू अन्यौलमा पर्न बाध्य छन्। “हामी छोरीलाई लिएर राति ११ बजे अस्पताल आइपुग्यौं, तर डाक्टरले लेखेको औषधि अस्पतालभित्र थिएन। बजारका सबै पसल बन्द रहेछन्। बाध्य भएर जनकपुर जानुपर्‍यो,” जलेश्वर नगरपालिका का रामेश्वर साह बताउँछन्।

स्थानीय व्यवसायीहरू दिनको समयमा प्रतिस्पर्धा गर्दै आफ्नो पसलमा ग्राहक ल्याउने होडमा देखिए पनि, रातको समयमा जिम्मेवारीबाट पन्छिन खोज्ने गरेको देखिन्छ। जबकि प्रादेशिक अस्पतालले दैनिक सयौं बिरामीलाई सेवा दिइरहेको छ, र इमर्जेन्सी कक्षमा रातको समयमा समेत बिरामीको चाप रहन्छ।

नाम नखुलाउने शर्तमा एक जना स्वास्थ्य अधिकारकर्मीले  “स्वास्थ्य सेवा २४ सै घण्टा उपलब्ध हुनुपर्छ। औषधिको अभावका कारण ज्यान जोखिममा पर्ने अवस्था अत्यन्तै दुःखद छ।” उनले स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयलाई औषधि पसलहरूको पालो मिलाएर रातको समयमा पनि सेवा खुला गराउने व्यवस्था गर्न आग्रह गरे। “हामीले पटक–पटक औषधि पसलहरूलाई राति पनि खुला राख्न अनुरोध गरेका छौं, तर उनीहरूले व्यापारिक हितलाई प्राथमिकता दिने गरेका छन्।”

जनस्वास्थ्यको आधारभूत आवश्यकता औषधि पहुँचमै खल्बल हुँदा रातीको समयमा आपतकालीन सेवामा आउने बिरामी र उनको परिवार अनावश्यक मानसिक तनावमा पर्ने गरेका छन्। समयमै औषधि नपाउँदा कतिपय अवस्थामा बिरामीको अवस्था गम्भीर हुनेसमेत चिकित्सकहरू बताउँछन्।

अहिलेको अवस्थामा, रातको समयमा औषधिको आवश्यकता परेमा जनकपुरधामसम्म पुग्नुपर्ने बाध्यता बिरामीहरूका लागि आर्थिक र मानसिक बोझ बन्ने गरेको छ। सम्बन्धित निकायले यसतर्फ चासो नदिए स्वास्थ्य अधिकारको उल्लंघन भइरहने देखिन्छ।