जिल्ला प्रहरी कार्यालय महोत्तरी अन्तर्गत ईलाका प्रहरी कार्यालय बर्दिबास र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले खैरो ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरू काठमाडौं जाँदै गरेका थिए।

विशेष  सूचनाका आधारमा वैशाख ३० गते बिहान करिब १०:३० बजे बर्दिबास नगरपालिका–३ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरीडाँडा नजिकै बिपी राजमार्गमा सशस्त्र सुरक्षात्मक चेकजाँच गरिएको थियो। ई.प्र.का. बर्दिबासका प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) विकास बम र लागु औषध नियन्त्रण ब्युरो शाखाका प्रहरी निरीक्षक (प्र.ना.नि.) सरोज कुमार अधिकारीको कमाण्डमा खटिएको संयुक्त टोलीले लहान, सिरहा हुँदै काठमाडौंतर्फ जाँदै गरेको एक हायस गाडी रोकेर तलाशी लिएको थियो।

तलाशीको क्रममा गाडीको अन्तिम सिटमा सवार रहेका नुवाकोट जिल्ला, लिखु गाउँपालिका–५ का २८ वर्षीय दिपेश श्रेष्ठको खुट्टाको मोजामा प्लास्टिकमा बेरेर लुकाइएको अवस्थामा ५.३७ ग्राम खैरो ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, सो कार्यमा संलग्न रहेको आरोपमा लिखु गाउँपालिका–६ निवासी २८ वर्षीय राजेन्द्र डंगोललाई पनि नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले सो लागु औषध काठमाडौं पुर्‍याउने उद्देश्य राखेको खुल्न आएको प्रहरी बताउँछ।

हाल दुवै जनालाई ईलाका प्रहरी कार्यालय बर्दिबासमा राखी थप अनुसन्धान भइरहेको छ। लागू औषध सम्बन्धी मुद्दामा उनीहरूलाई कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।