महोत्तरी, वैशाख २९ — महोत्तरीको सम्सी नाकामा नेपाल सशस्त्र प्रहरी बल (APF) र भारतको सीमा सुरक्षा बल (SSB) ले संयुक्त रूपमा सरसफाइ अभियान सञ्चालन गरेका छन्। नेपाल–भारत सीमाको दसगजामा भएको सो अभियानमा दुबै देशका सुरक्षाकर्मीहरूको सक्रिय सहभागिता देखिएको थियो।

अभियानमा सशस्त्र प्रहरी महोत्तरीका प्रहरी उपरीक्षक पुरन चन्द्र भटको विशेष उपस्थिति रहेको थियो। उनको नेतृत्वमा नेपाली सशस्त्र प्रहरी बलले भारतीय सुरक्षाकर्मीहरूसँग सहकार्य गर्दै सीमाक्षेत्रमा फोहोरमैला संकलन, झाडी सफा, तथा सरसफाइ जनचेतना फैलाउने काम गरेका थिए।

प्रहरी उपरीक्षक भटले सीमाक्षेत्रलाई स्वच्छ राख्न यस्ता अभियानले सकारात्मक सन्देश दिने बताएका छन्। अभियानको क्रममा सुरक्षाकर्मीहरू हातमा कुचो र झोला बोकी सडक किनार, सार्वजनिक स्थल तथा झाडीहरू सफा गर्दै देखिएका थिए।

स्थानीय बासिन्दा र व्यापारीहरूले पनि अभियानको प्रशंसा गर्दै यस्ता कार्यक्रम नियमित हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

सशस्त्र प्रहरी बल महोत्तरीका अनुसार, यस्ता सरसफाइ अभियानहरूले सीमाक्षेत्रमा अनुशासन, स्वच्छता र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्छन्।