भारत-पाकिस्तान तनावले वीरगन्ज नाकामा कडाइ, परिचयपत्र अनिवार्य


वीरगन्ज : भारतको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव चलिरहेका बेला नेपालको नाकामा पनि सुरक्षाकर्मीले कडाइ गर्न थालेका छन्। भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख नाका वीरगन्ज-रक्सौल नाकामा पनि दुवै देशका सुरक्षाकर्मीले सीमा वारपार आवतजावतमा कडाइ गरेका हुन्। दुवै देशका सुरक्षाकर्मीले नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सर्वसाधारणलाई पहिचान खुल्ने परिचयपत्र हेरेरमात्रै प्रवेश अनुमति दिएका छन्।
यसअघि भारतमा नेपालीले यात्रा गर्दा हवाई तथा रेलमार्गमा मात्र परिचयपत्र अनिवार्य थियो। नेपालमा यात्रा गर्दा भारतीयलाई भने कुनै परिचयपत्र देखाउनुपर्ने अनिवार्यता थिएन। त्यस्तै सीमावर्ती भारतीय बजार क्षेत्रमा आवतजावत गर्दा नेपालीलाई पनि परिचयपत्र अनिवार्य थिएन।
गत वैशाख १५ गते भारत बिहारको पश्चिम चम्पारणको मानपुर थानाअन्तर्गत पर्ने चित्रसेनको तीनलालटेन गाउँमा अवस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) क्याम्पमा दुवै देशका सीमावर्ती क्षेत्रका सीमा सुरक्षा बल प्रमुखहरूको बैठक बसेको थियो। उक्त बैठकमा नेपालका तर्फबाट पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल र बाराका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी सहभागी थिए। भारतको तर्फबाट भने एसएसबीका ४४ र ४७ बटालियनका उच्च अधिकारी सहभागी थिए।
उक्त बैठकमै दुवै देशका सीमा सुरक्षा बलका अधिकारीहरूबीच नेपाल-भारत सीमा नाकामा आवतजावत गर्नेहरूको चेकजाँचमा कडाइ गर्ने सहमति भएको हो। बैठकमा सहभागी पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले भने, ‘सीमा वारपार आवतजावत गर्नेहरूको चेकजाँचमा कडाइ गर्ने सहमति भएको हो। निर्णय नै भएको चाहिँ होइन। उक्त सहमतिको कार्यान्वयनका लागि अहिले ट्रायलमात्र चलिरहेको छ।’
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि नेपाल-भारत आवतजावत गर्नेहरूको सीमा नाका चेकजाँचमा कडाइ गरिएको पुष्टि गरे। नाकाबाट हुनसक्ने अवैध घुसपैठ र अनधिकृत व्यक्तिको प्रवेशलाई निरुत्साहित गर्न सीमा नाकामा थप सतर्कता अपनाएर चेकजाँचमा कडाइ गरिएको अर्यालले बताए। भारतीय समकक्षीहरूको सूचना र समन्वयमै वीरगन्ज नाकामा पनि अहिले चेकजाँचमा कडाइ गरिएको उनले बताए।
भारत-पाकिस्तानबीचको सम्बन्धमा पछिल्लो समय विकसित अवस्थालाई पनि मध्यनजर नाकाको चेकजाँचलाई प्रभावकारी बनाइएको उनले बताए। ‘नेपाली नागरिक सीमापारि रक्सौल जाने क्रममा सीमामा भारतीय सुरक्षाकर्मीले गर्ने व्यवहारजस्तो हुन्छ। भारतबाट नेपाल आउनेहरूसँग पनि हाम्रो सीमानाकामा हाम्रोतर्फबाट पनि उस्तै व्यवहार हुन्छ,’ अर्यालले भने।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

