नवीन चौधरी — महोत्तरीको पिपरा गाउँपालिका–६ मुसहरी टोलमा आज साँझ आएको हावाहुरीका कारण गाईगोठ भत्किँदा एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार साँझ करिब ५ः३० बजेको समयमा स्थानीय झगरु मुखियाको बाँस र टाटीले बनेको गाईगोठमा पानीबाट जोगिन बसेकी सोही स्थानकी सुन्देश्वर सदाकी श्रीमती अन्दाजी ५० वर्षीया सुनिता सदा गोठ भत्किँदा च्यापिएकी थिइन्।

हावाहुरी तीव्र रूपमा चलेका बेला उनी वर्षाबाट बच्न उक्त गोठमा गएको बताइएको छ। त्यसै क्रममा हावाहुरीकै कारण गोठ अचानक भत्किएको र उनी च्यापिएको अवस्थामा फेला परेकी थिइन्।
घटनाबारे साँझ प्रहरी चौकी भमरपुरामा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलमै उनको मृत्यु भएको पुष्टि गरेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।