महोत्तरी – संघीयताको उद्देश्य जनताको घर–आँगनमै सेवा पु¥याउने हो भन्ने कुरा मनरा सिस्वा नगरपालिकाले तीन वर्षमै प्रमाणित गरेको छ। मेयर मोहन पान्डेको नेतृत्वमा शिक्षा, संस्कार र स्वास्थ्यका क्षेत्रमा गरिएको उल्लेखनीय कामले स्थानीयवासीको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको छ।

नगरपालिकाले सबै सामुदायिक विद्यालयमा संस्कृत शिक्षा लागू गरेको छ। संस्कृतलाई केवल भाषा मात्र नभई संस्कृति, नैतिकता र परम्परागत ज्ञानको स्रोतको रूपमा बुझ्दै यसलाई शैक्षिक पाठ्यक्रममा समेटिएको हो। संस्कृत कक्षामार्फत विद्यार्थीले किताबकै ज्ञान मात्र होइन, संस्कृतिमा निहित अनुशासन, श्रद्धा र समाजप्रतिको कर्तव्यबोध सिकिरहेका छन्।

यससँगै, सबै विद्यालयबाट विद्यार्थी छनौट गरी संस्कार शिविरमा सहभागी गराउने अभ्यास सुरु गरिएको छ। शिविरमार्फत विद्यार्थीलाई योग, ध्यान, संस्कार र सकारात्मक जीवनशैली सिकाइन्छ। यसले विद्यार्थीमा आत्मबल बढाउनुका साथै उनीहरूलाई भविष्यमा जिम्मेवार नागरिक बन्न प्रेरित गरेको छ।

संस्कार शिविरमा सहभागी भएका विद्यार्थीहरूमा व्यवहारमै परिवर्तन देखिएको छ। उनीहरूमा अनुशासन र आत्मनियन्त्रणको गुण विकसित भएको छ भने शिक्षा र संस्कारसँगै आत्मविश्वास पनि बढेको छ। स्थानीय अभिभावकहरूले आफ्ना छोराछोरीमा आएको परिवर्तनलाई गर्वको रूपमा लिएका छन्।
एक अभिभावकले भने, “पहिले त छोराछोरी केवल किताब पढ्थे, तर अहिले उनीहरूले संस्कार पनि सिकिरहेका छन्। हामीलाई लाग्छ, उनीहरूको भविष्य उज्यालो हुँदैछ।”

नगरपालिकाले शिक्षा र संस्कारसँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ। स्वास्थ्य टोली परिचालन गरेर गाउँ–गाउँमा स्वास्थ्यकर्मी पठाइएको छ। यसले गर्दा सामान्य उपचार र स्वास्थ्य परामर्श पाउन अब टाढा धाउनुपरेको छैन।

स्थानीय महिला सावित्री देवी भन्छिन्, “पहिले सामान्य उपचारका लागि पनि अस्पताल धाउनुपर्ने बाध्यता थियो। अहिले गाउँमै स्वास्थ्यकर्मी आउँछन्, हामीलाई धेरै सजिलो भएको छ।”

यस पहलले गाउँमा बस्ने वृद्धवृद्धा, महिला र विपन्न परिवारलाई विशेष राहत दिएको छ।

नगरपालिकाले आयुर्वेदप्रतिको आकर्षण बढाउने अभियानलाई निरन्तरता दिएको छ। प्राकृतिक उपचार र जडीबुटीको महत्वबारे सचेतना फैलाइएको छ। यसले गाउँघरमै आयुर्वेदिक ज्ञानलाई पुनःजीवित गरेको छ।

मानिसहरूले रोग–व्याधासँग जुध्न परम्परागत उपायलाई पनि जीवनशैलीमा अपनाउन थालेका छन्। यसले आधुनिक चिकित्सा प्रणालीसँगै आयुर्वेदलाई पनि समाजमा समानान्तर स्थान दिलाएको छ।

यी सबै कामहरू केवल विकासका सूचक मात्र होइनन्, संघीयताको उपलब्धि पनि हुन्। स्थानीय सरकारले प्रत्यक्ष रूपमा जनताको जीवनमा कसरी परिवर्तन ल्याउन सक्छ भन्ने प्रश्नको जवाफ मनरा सिस्वा नगरपालिकाले दिएको छ।

शिक्षा, संस्कार र स्वास्थ्यलाई एउटै धागोमा बाँधेर अघि बढाउने दृष्टिकोणले संघीयताको आत्मालाई बलियो बनाएको छ। स्थानीय शिक्षकहरु भन्छन्, “संघीयता सफल बनाउन यस्तै जनमुखी काम आवश्यक हुन्छ। शिक्षा, संस्कार र स्वास्थ्यमा भएको यो कामले नगरवासीको जीवनस्तर सुधार भएको छ।”

तीन वर्षको छोटो अवधिमा मनरा सिस्वा नगरपालिकाले शिक्षा र संस्कारमार्फत भविष्यको पुस्ता तयार गरेको छ भने स्वास्थ्य र आयुर्वेदमार्फत नागरिकलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गरेको छ।

यी उपलब्धिहरूले संघीयताको आत्मालाई व्यवहारमै जीवित राख्दै मेयर मोहन पान्डेको नेतृत्वलाई जनतामुखी र उदाहरणीय सावित गरेको छ। मनरा सिस्वा नगरपालिका आज संघीयताको सफल अभ्यासको जीवन्त उदाहरण बनेको छ।