मधेसको अधिकार र विकासका लागि जसपा नै विकल्प : महन्त ठाकुर

महोत्तरी — जनता समाजवादी पार्टी (जसपा) नेपालले आज महोत्तरी को सदरमुकाम जलेश्वरमा नेता तथा कार्यकर्ता भेला आयोजना गरी आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउने सन्देश दिएको छ। बैठकमा नेता कार्यकर्ताहरु मधेसको अधिकार, पहिचान र समावेशी विकासका सवालमा जसपा नेपालको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै यसपटकको निर्वाचनलाई निर्णायक बनाउनु पर्ने बताए।
भेलालाई सम्बोधन गर्दै जसपा नेपालका संरक्षक महन्त ठाकुरले निर्वाचन केवल सरकार परिवर्तनको प्रक्रिया मात्र नभई अधिकारको निरन्तर आन्दोलनको एउटा महत्वपूर्ण चरण भएको धारणा राख्नुभयो। “चुनाव पनि एक प्रकारको अधिकार आन्दोलन हो,” ठाकुरले भन्नुभयो, “मधेसका जनताले आजसम्म प्राप्त गरेका धेरै अधिकारहरू मधेस केन्द्रित राजनीतिक दलहरूको लामो संघर्ष र बलिदानकै परिणाम हुन्।”
उहाँले मधेसका जनतालाई राजनीतिक रूपमा सचेत रहन आग्रह गर्दै आफ्नो अधिकारका लागि निरन्तर संघर्ष गर्ने शक्तिलाई मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। मधेसलाई अझ अधिकारसम्पन्न बनाउने, समानुपातिक समावेशिता सुनिश्चित गर्ने र क्षेत्रीय विकासलाई गति दिने विषयमा जसपा नेपाल स्पष्ट एजेन्डाका साथ अघि बढिरहेको उहाँको दाबी थियो।
ठाकुरले मधेसको समग्र विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार निर्माणमा राज्यको विभेद अझै अन्त्य नभएको उल्लेख गर्दै ती समस्याको समाधानका लागि जसपा नेपालको विकल्प नरहेको बताउनुभयो। “मधेसका मुद्दा बुझ्ने, उठाउने र समाधान गर्न सक्ने शक्ति जसपा नेपाल नै हो,” उहाँको भनाइ थियो।
कार्यक्रममा बोल्ने अन्य नेताहरूले महोत्तरी क्षेत्र नम्बर ३ को राजनीतिक अवस्थाबारे चर्चा गर्दै उम्मेदवार मिनाक्षी झालाई विजयी बनाउन पार्टी संगठनलाई वडा तहसम्म परिचालन गर्न सल्लाह दिएका थिए । संरक्षक ठाकुरले घरदैलो अभियान, मतदाता भेटघाट तथा जनसंवाद कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सबै नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए।

उम्मेदवार मिनाक्षी झाले कार्यक्रममा आफ्नो धारणा राख्दै मधेसका महिला, युवा र पछाडि परेका समुदायको आवाज संसदमा बलियो रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले क्षेत्रका आधारभूत समस्या समाधानका लागि जनतासँग मिलेर काम गर्ने बताउँदै मतदाताको विश्वास र समर्थनको अपेक्षा गर्नुभयो।
भेलामा जसपा नेपालका केन्द्रीय सदस्यहरू, जिल्ला नेतृत्व, स्थानीय तहका जनप्रतिनिधि तथा ठूलो संख्यामा नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले पार्टीलाई एकताबद्ध बनाएर आगामी निर्वाचनमा सशक्त रूपमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन्।
पार्टीले आगामी दिनहरूमा जिल्लाभरि यस्तै किसिमका कार्यक्रमहरू आयोजना गर्दै मतदातासम्म आफ्नो एजेन्डा पुर्याउने तयारी गरेको जसपा नेपालले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





