महोत्तरी — नेपाल प्रेस युनियन महोत्तरी शाखाका उपाध्यक्ष तथा वरिष्ठ पत्रकार वैधनाथ चौधरीको ६७ वर्षको उमेरमा निधन भएको छ। दम रोगबाट पीडित चौधरीको आज बिहान ५ बजे आफ्नै निवासमा असामयिक निधन भएको हो।
स्वर्गीय चौधरी महोत्तरी जिल्लाको साविक बनौली दनौली  गाविस वडा नं. ४ हाल पिपरा गाउँपालिका वडा नं. ७ बनौली निवासी हुनुहुन्थ्यो। तीन दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारितामा संलग्न चौधरी नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद तथा मेची महाकाली मिडिया सोसाइटी महोत्तरी शाखाका अध्यक्षसमेत रहनुभएको थियो।
उहाँले गोरखापत्र, रेडियो विरगञ्ज, लोकपुकार साप्ताहिक लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा कार्य गर्दै पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको नेपाल प्रेस युनियन महोत्तरी शाखाले जनाएको छ।


उहाँको निधनले नेपाल प्रेस युनियनले एक अनुभवी, कर्मठ र प्रेरणादायी अग्रज पत्रकार गुमाएको शोक विज्ञप्तिमा उल्लेख गरिएको छ। यस दुःखद घडीमा नेपाल प्रेस युनियन महोत्तरी शाखाले स्वर्गीय पत्रकार चौधरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, सहकर्मी तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
नेपाल प्रेस युनियन महोत्तरी शाखाले दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।