महोत्तरी–३ मा बजरंग नेपालीको उम्मेदवारी: लामो राजनीतिक अनुभवसहित चुनावी मैदानमा

महोत्तरी – नेपाली कांग्रेसका नेता बजरंग नेपाली महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको लामो राजनीतिक यात्रा अहिले केन्द्रीय तहको जिम्मेवारीसम्म पुगेको छ।

नेपालीले २०३० को दशकको अन्त्यतिर नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। साधारण सदस्य देखि जिल्ला अध्यक्ष सम्मको जिम्मेवारी सम्हालेका उनी पछि केन्द्रीय तहसम्म पुगे। उनले नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा समेत काम गरेका छन् भने नेपाली कांग्रेसको जिल्ला कार्यसमिति, महासमिति र महाधिवेशन प्रतिनिधिका रूपमा पनि लामो समय सक्रिय रहे।

२०६२/०६३ को जनआन्दोलनताका उनले महोत्तरीमा पार्टी नेतृत्व तहबाट भूमिका खेलेका थिए। त्यसयता उनी निरन्तर संगठन विस्तार र पार्टी सुदृढीकरणमा संलग्न रहँदै आएका छन्। हाल उनी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा समेत जिम्मेवारीमा रहेका नेता हुन्।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि महोत्तरी–३ बाट उम्मेदवार बनेका नेपालीले पार्टी निर्णयअनुसार उम्मेदवारी फिर्ता लिएका थिए। यसपटक भने उनी पूर्ण तयारीसहित चुनावी प्रतिस्पर्धामा छन्।
उम्मेदवार नेपालीले आफूले वर्षौँदेखि महोत्तरी क्षेत्र नम्बर ३ का बस्ती–बस्ती पुगेर जनताका समस्या नजिकबाट बुझेको बताउँदै आएका छन्। उनका अनुसार यस क्षेत्रमा बाढी–डुबान, कृषि सिँचाइ, सडक पूर्वाधार, स्वास्थ्य सेवा र युवाको रोजगारी प्रमुख चुनौतीका रूपमा रहेका छन्। यी समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने उनको धारणा छ।

लामो संगठनात्मक अनुभव, जिल्ला र केन्द्रीय तहको पहुँच तथा निरन्तर क्षेत्रीय सक्रियताका कारण बजरंग नेपाली यस क्षेत्रमा परिचित अनुहार मानिन्छन्।
महोत्तरी–३ मा यसपटकको चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ, जहाँ पुराना राजनीतिक अनुहार र नयाँ आकांक्षाबीच मतदाताले आफ्नो निर्णय सुनाउने तयारी गरिरहेका छन्।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





