नवीन चौधरी, महोत्तरी — महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा घरबाट बेपत्ता भएकी एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छन्।
मृत फेला पर्नेमा ७३ वर्षीया रासो देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। उनको शव घर नजिकैको उखुबारीमा फेला परेको हो।
परिवारका अनुसार माघ १४ गते राति उनी आफ्नै घरमा सुतिरहेकी थिइन्। बिहान उठ्दा घरमा नभेटिएपछि परिवारजनले खोजतलास सुरु गरेका थिए। खोजीका क्रममा स्थानीयवासीको सहयोगमा घर अगाडीकै उखुबारीमा उनको शव फेला परेको हो।
घटनास्थलको अवस्था हेर्दा मृत्यु शंकास्पद देखिएको र हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सैलेन्द्र भट्ट ले घटनाबारे गम्भीर रूपमा अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार  वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि खुल्नेछ।
घटनापछि स्थानीय क्षेत्रमा त्रास र चिन्ता फैलिएको छ। प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षबाट अनुसन्धान अघि बढाइएको जनाएको छ।