नवीन चौधरी – जिल्ला  प्रशासन कार्यालय महोत्तरीले भारतसँग सीमा जोडिएका क्षेत्रका विभिन्न मतदान केन्द्र तथा मतदान स्थलहरूको स्थलगत अनुगमन गरेको छ। आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन प्रशासनले सीमा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै निरीक्षण तीव्र बनाएको जनाएको छ।

अनुगमन टोलीले मतदान केन्द्रहरूको भौतिक अवस्था, सुरक्षा प्रबन्ध, मतदाताको सहज पहुँच तथा आवश्यक पूर्वतयारीको अवस्थाबारे विस्तृत जानकारी लिएको थियो। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षाकर्मीको उपस्थिती, आवतजावतको बारेमा  समेत अवलोकन गरिएको प्रशासनले जनाएको छ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवका अनुसार अनुगमनका क्रममा मतदाताहरूमा उल्लेखनीय उत्साह देखिएको छ। “मतदान केन्द्र वरपरका स्थानीय बासिन्दा निर्वाचनप्रति सकारात्मक र उत्साहित देखिनुभएको छ,” उहाँले भन्नुभयो, “शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी भइरहेको छ।”

उहाँका अनुसार सीमा क्षेत्रका मतदान केन्द्रहरूको नियमित अनुगमनले निर्वाचनलाई थप व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। प्रशासनले निर्वाचनका बेला कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकायबीच समन्वयलाई अझ सुदृढ बनाइएको जनाएको छ।
सीमा क्षेत्र भएकाले विशेष सतर्कता अपनाइएको प्रशासनको भनाइ छ।