नवीन चौधरी — “स्वास्थ्य, समाज समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” भन्ने नाराका साथ महोत्तरीमा आज राष्ट्रिय योग दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको आयोजनामा योग प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै योग दिवस मनाइएको हो। कार्यक्रममा विभिन्न उमेर समूहका सर्वसाधारण, विद्यार्थी, कर्मचारी, स्वास्थ्यकर्मी तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले योगको महत्त्वबारे प्रकाश पार्दै योग केवल शारीरिक अभ्यास मात्र नभई मानसिक शान्ति, आत्मिक सन्तुलन र अनुशासित जीवनशैलीको आधार भएको बताए। उनले आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा मानिसहरू विभिन्न मानसिक तथा शारीरिक समस्याबाट गुज्रिरहेको अवस्थामा योग प्रभावकारी समाधान बन्न सक्ने उल्लेख गरे।
नियमित योग अभ्यासले शरीर स्वस्थ राख्नुका साथै मनलाई पनि शान्त बनाउँछ। स्वस्थ नागरिक नै समृद्ध समाजको आधार हो,” उनले भने।
त्यस्तै, प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय महोत्तरीका प्रमुख नन्द किशोर कुशवाहाले प्रत्यक्ष रूपमा सहभागीहरूलाई योग प्रशिक्षण दिएका थिए। उनले सूर्य नमस्कार, प्राणायाम, ध्यान, विभिन्न आसन तथा तनाव व्यवस्थापनका अभ्यास गराउँदै योगका वैज्ञानिक फाइदाबारे जानकारी गराए।
कुशवाहाका अनुसार योगले रोग प्रतिरोधात्मक क्षमता बढाउने, रक्तसञ्चार सुधार गर्ने, निद्रा समस्या कम गर्ने र मानसिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउँछ। उनले दैनिक जीवनमा कम्तीमा ३० मिनेट योग अभ्यास गर्न सके धेरै स्वास्थ्य समस्या आफैं नियन्त्रणमा आउने बताए।

कार्यक्रममा सहभागीहरूले यस्तो जनचेतनामूलक कार्यक्रमले स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्ने, समुदायमा आपसी सद्भाव बढाउने र अनुशासित जीवनशैली अपनाउन प्रेरित गर्ने बताएका छन्। उनीहरूले यस्ता कार्यक्रमलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
आयोजक संस्थाले आगामी दिनहरूमा पनि जिल्लाका विभिन्न स्थानमा योग, आयुर्वेद र वैकल्पिक उपचारसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।