महोत्तरी – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पुगेका नेता विमलेन्द्र निधीलाइ केन्द्रीय कार्यालय परिसरमै केहि अराजक व्यक्तिहरूले गरेको दुर्व्यवहारप्रति नेपाली कांग्रेस महोत्तरीका महाधिवेशन प्रतिनिधि मोहन पाण्डेले कडा निन्दा तथा भर्त्सना गरेका छन्।
महाधिवेशन प्रतिनिधि पाण्डेले समाजिक सन्जालमा जारी गरेको धारणा अनुसार विचार नमिल्दैमा नेतामाथि दुर्व्यवहार गर्नु लोकतान्त्रिक संस्कार र कांग्रेसको मूल आत्माविपरीत रहेको उल्लेख गरेका छन्। “विचारको युद्ध विचारबाटै लडिनुपर्छ, जब तर्क सकिन्छ तब असहिष्णुता जन्मिन्छ,” भन्दै उनले यस्तो अराजक गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे।
उनले नेपाली कांग्रेसका सच्चा कार्यकर्ता सधैं संयमित, संस्कारी र लोकतान्त्रिक मूल्यमा अडिग रहने उल्लेख गर्दै नेताहरूमाथि आक्रमण गर्ने, दुर्व्यवहार गर्ने र उच्छृंखल प्रवृत्ति देखाउने व्यक्तिहरू कांग्रेस हुनै नसक्ने दाबी गरेका छन्।
महाधिवेशन प्रतिनिधि पाण्डेले यस्ता गलत र अराजक प्रवृत्तिले पार्टीको गौरवशाली इतिहास, लोकतान्त्रिक छवि र संगठनात्मक अनुशासनमा गम्भीर क्षति पुर्‍याउने चेतावनी दिँदै यस्ता गतिविधिलाई तत्काल निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन्।