नवीन चौधरी – निवर्तमान प्रतिनिधिसभा सांसद अमरेस कुमार सिंहले फाल्गुन २१ गते तोकिएको समयमा प्रतिनिधिसभा निर्वाचन नहुने दाबी गर्नुभएको छ। फाल्गुन महिनामा हिमाल का जिल्लामा हिमपात हुने र फाल्गुन २० गते मधेसका जिल्लाहरुमा होलि भएको भन्दै अनेकौं कारण तोकिएको मितिमा चुनाव नहुने बताउनुभयो ।

उहाँले प्रतिनिधिसभा पुनःस्थापनाको चर्चा समेत  केही नेताहरूको व्यक्तिगत स्वार्थबाट प्रेरित रहेको आरोप लगाउनुभयो।

नेपाल प्रेस युनियन महोत्तरी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले देशको राजनीतिक अन्योलका पछाडि सीमित तीन जना नेताको स्वार्थ जोडिएको बताउनुभयो। उहाँका अनुसार ती नेताहरू आफ्ना स्वार्थ पूरा गर्न विभिन्न नाटक मञ्चन गरिरहेका छन्।

“केही नेताहरू भ्रष्टाचारका मुद्दामा जेल जान सक्ने अवस्थामा पुगेका छन्,” सिंहले भन्नुभयो, “त्यसबाट जोगिनका लागि उनीहरू निर्वाचन टार्ने र प्रतिनिधिसभा पुनःस्थापनाको बहाना बनाइरहेका छन्।”

सिंहले वर्तमान देशको राजनीतिक गतिविधिहरू जनताको हितभन्दा पनि नेताहरूको व्यक्तिगत सुरक्षा र लाभमा केन्द्रित रहेको आरोप लगाउँदै समयमै निष्पक्ष निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो। उहाँले जनताको मताधिकार खोस्ने कुनै पनि प्रयास अस्वीकार्य हुने स्पष्ट पार्नुभयो।