नेपाली काङ्ग्रेस महोत्तरीले आउने चुनावमा कुनै पार्टी संग गठबन्धन गर्दैनन् सभापति : यादव

नवीन चौधरी – नेपाली काङ्ग्रेस महोत्तरीले आउँदो चुनावमा कुनै पनि प्रकारको गठबन्धन नगर्ने पार्टीका सभापति नागेस्वर यादवले स्पष्ट गरेको छ।
पार्टीका महोत्तरी सभापति नागेश्वर यादवले जिल्लामा पार्टीले एक्कलै चुनाव लड्ने अडान दोहोर्याउँदै केन्द्रबाट जबर्जस्ती गठबन्धनको निर्णय आए पनि त्यसलाई स्वीकार नगर्ने बताएका छन्।
नेपाल प्रेस युनियन महोत्तरीद्वारा आयोजित ‘महोत्तरी साक्षात्कार’ कार्यक्रममा बोल्दै सभापति यादवले महोत्तरीको राजनीतिक अवस्था र जनभावनालाई बेवास्ता गर्दै केन्द्रबाट गठबन्धन थोपर्ने प्रयास भए त्यसविरुद्ध जिल्ला कमिटी दृढतापूर्वक उभिने चेतावनी दिए।
“महोत्तरीमा नेपाली काङ्ग्रेस बलियो अवस्थामा छ। जनताको विश्वास काङ्ग्रेसप्रति छ, त्यसैले गठबन्धनको आवश्यकता छैन,” उनले भने।
सभापति यादवले स्थानीय तहदेखि प्रतिनिधिसभासम्म पार्टी एक्लै चुनाव लड्न सक्षम रहेको दाबी गर्दै गठबन्धनका कारण पार्टी कार्यकर्ता निरुत्साहित हुने र संगठन कमजोर बन्ने अनुभव अघिल्ला चुनावबाट देखिएको बताए। उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र स्थानीय निर्णयको सम्मान हुनुपर्नेमा जोड दिए ।
नेपाली काङ्ग्रेस महोत्तरीको यो अडानले आगामी चुनावमा जिल्लाको राजनीतिक समीकरण थप रोचक बन्ने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





