नबिन चौधरी  — आगामी प्रतिनिधिशभा सदस्य निर्वाचनका लागि नेपाली काङ्ग्रेसले महोत्तरी क्षेत्र नं. ३ बाट रामचन्द्र तिवारीको एकल नाम सिफारिस गरेको छ।

पार्टीको क्षेत्रिय  समितिको  बैठकले तिवारीलाई क्षेत्र नं. ३ का लागि उम्मेदवारको रूपमा सर्वसम्मत रूपमा सिफारिस गरेको हो। लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका तिवारीलाई संगठन निर्माण, जनसम्पर्क र विकासका मुद्दामा प्रभावकारी भूमिका खेलेको भन्दै नेतृत्वले विश्वास व्यक्त गरेको जनाएको छ।

बैठकमा सहभागी नेताहरूले महोत्तरी क्षेत्र नं. ३ मा पार्टीलाई मजबुत बनाउन तिवारी उपयुक्त उम्मेदवार भएको धारणा राख्दै केन्द्रमा एकल नाम पठाउने निर्णय गरिएको जानकारी दिए। सिफारिससँगै स्थानीय कार्यकर्ता र समर्थकहरूमा उत्साह थपिएको छ।

रामचन्द्र तिवारीले आफूलाई सिफारिस गरिएकोमा पार्टी नेतृत्व र कार्यकर्ताप्रति आभार व्यक्त गर्दै महोत्तरी क्षेत्र नं. ३ का जनताको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

पार्टीको केन्द्रीय समितिबाट अन्तिम निर्णय हुन बाँकी रहे पनि क्षेत्रीय स्तरमा तिवारीको उम्मेदवारीलाई बलियो रूपमा हेरिएको छ।