महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–६ परिक्रमा पोखरी नजिक बाढीको पानीमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । आज दिउँसो करिब २ बजे साउजीपट्टी बस्ने करिब १२ वर्षका सलमान साफी ठूलो धबौली जाने भित्री बाटोमा रहेको लच्कामा बाढीको तीव्र बहाव भएको पानीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

घटनापछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टको कमाण्डमा प्रहरी टोली खटिएको थियो । निरन्तरको खोजीपछि साफीको शव घटनास्थल नजिकैबाट फेला परेको प्रहरीले जनाएको छ ।

लगातारको वर्षासँगै बाढीको पानी सडक र खेतबारीमा पस्दा स्थानीय बालबालिका खेलकुदका क्रममा जोखिममा पर्ने घटना बढ्दै गएका छन् । प्रहरीले बालबालिकालाई बाढीको पानीमा नजाने र अभिभावकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

स्थानीयहरूका अनुसार लच्का क्षेत्र बाढीले भरिएर खतरनाक बनेको छ, तर सुरक्षाको पर्याप्त व्यवस्था नभएकाले दुर्घटनाको जोखिम बढेको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।