भ्रष्टाचार विरुद्ध देशमा भएको ऐतिहासिक Gen -z आन्दोलनको कारण के पी ओली नेतृत्वको नेपाली कॉंग्रेस र एमाले गठबंधनको सरकार ढलीसकेको छ, नेताहरु कुटिएकाछन, घरबार र सरकारी तथा निजी सम्पत्ती र संरचनाहरु जलाईएकाछन र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अंतरिम सरकार को गठन भई सकेको र फाल्गुन २१ गत्ते प्रतिनिधिसभाको निर्वाचन हुनेगरि मिती तोक्दै प्रतिनिधिसभा विघटन समेत भई सकेकोछ ! यसै सन्दर्भमा नेपाली कॉंग्रेस महोत्तरीका नेता चन्दन दुबे संगको कुराकानीको सम्पादित अंश प्रस्तुत छ !

 *  तपाँईले यस आन्दोलनलाई कसरी हेर्नु भएको छ ?

सर्व प्रथम त म यस विध्वंसक आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण निर्दोष भाईबहिनीहरु, सुरक्षाकर्मी साथीहरु र अन्य नेपाली नागरिकहरु प्रति विनम्र श्रद्धांजलि अर्पण गर्न चाहन्छु ! यस आन्दोलनको सन्दर्भमा भन्ने हो भने आन्दोलन कसैले रहरले गरेको हुँदैन ! शीर्ष नेतृत्व वा सरकारहरु द्वारा देशमा व्याप्त गराईएका भ्रष्टाचार, बेथिति, नातावाद कृपावाद, अराजकता, अपराध र लूटतंत्र जस्ता कृयाकलापहरुले गर्दा जनताले सुशासन अनुभव गर्न सकेन ! मूलतः केपी ओलीको दम्भपूर्ण व्यवहार र बेतुक को बोलीले तथा कांग्रेस सभापति शेर बहादुर देउवा दम्पतिको अनुचित उच्च महत्वकांक्षा र अकर्मन्यता ले गर्दा विस्तारै युवा पुस्तामा नैराश्यता र आक्रोश बढदै गयो ! सत्ताको अहंकारमा रहेका प्रधानमंत्री र सरकारले आम जनताको असंतुष्टि र आक्रोशको अनुमान नै गर्न सकेनन अंततः यति भीषण आन्दोलन हुन पुग्यो !

 *  पार्टी सभापतिको देउवाको घर जलाईएको छ, भौतिक आक्रमण गरिएकोछ,पार्टी कार्यालय र नेताहरुको घरमा पनि आक्रमण भएको छ के भन्नु हुन्छ?

सभापति दम्पतिको स्वास्थ्यलाभको कामना गर्दछु ! मुख्य रुपमा यो आन्दोलन नै नेताहरुलाई टारगेट गरेर भएको हो तसर्थ उक्त घटनाहरु हुन गएको हो ! तर केवल कॉंग्रेस सभापति को घर मात्र जलाईएको होईन विभिन्न नेताहरूको घर सम्पति माथि आक्रमण गरिएको हो र त्यति मात्र होईन संसद भवन,सिंहदरबार, सर्वोच्च अदालत, अख्तियारको भवन र आम नागरिक र व्यवसायीहरुको खर्बौका सम्पति पनि जलाईएको र नष्ट परिएको छ ! यो चाहीं दुर्भाग्यपूर्ण हो र यस्तो खालको महाविनाश पढ़ने लेख्ने Gen-z का भाईबहिनीहरुले त पक्कै पनि गरेका होईनन ! षड़यंत्र पूर्वक घुसपैठ गराएर नेपाललाई विनाश गर्न लगाईएको हो र यस महावीनाशको कारण निजी क्षेत्रमा काम गर्ने हज़ारौ नेपाली बेरोजगार भएकाछन भने देशको फितलो रहेको अर्थतंत्र धाराशायी भएको छ ! साथै अत्यंत महत्वपूर्ण दस्तावेजहरु नष्ट पार्दै देशलाई लगभग बीस वर्ष पछाड़ी धकेलिएको छ ! यस षड़यंत्रको गंभीरता पूर्वक अनुसन्धान गर्न पनि जरुरी छ !

* संसद विघटन गर्दै सुशीला कार्कीको नेतृत्वमा अंतरिम सरकार गठन भई फाल्गुन २१ मा निर्वाचन समेतको घोषणा भै सकेको छ, नेपाली कॉंग्रेसले अब के गर्छ ?
संसद विघटन संवैधानिक नरहेको कॉंग्रेसको निष्कर्ष छ ! दोस्रो कुरा यधपी पनि नेपाली कॉंग्रेसले Gen-z आन्दोलनको मर्मलाई स्वीकार गर्दै चुनावको तैयारीमा जानू पर्छ र जनताले दिने मतादेश स्वीकार्नु पर्छ !
नेपाली कॉंग्रेस लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने पार्टी भएकोले जनताको मनोभावना र अभिमतलाई अस्वीकार गर्ने त कुरै आउनु हुँदैन नि ! नेपाली जनता को विचार मा कॉंग्रेसको सहमति हुने हो यसमा कुनै लेकिन किन्तु परन्तु छैन !

*  पहिला देखि नै पार्टी माथि भ्रष्टाचारको आरोप लागिराखेको र सभापति शेर बहादुर देउवाको घरबाट त्यति ठूलो परिमाणमा पैसा निस्केको छ के भन्नुहुन्छ ?

सभापतिको घरबाट निस्केको पैसा कस्को हो कस्तो हो कति हो र किन हो भने कुरा जाँचको विषय हो ! त्यसले सिंगो नेपाली कॉंग्रेस पार्टी नै भ्रष्टाचारमा संलग्न रहेको भन्न मिल्दैन ! गगन थापा,चन्द्र भण्डारी, विश्व प्रकाश शर्मा, सुनील शर्मा, डॉ. शेखर कोईराला, प्रदीप पौडेल लगायतका नेताहरु पनि त छन नि त कॉंग्रेसमा ! हामी नकारात्मक कुरा र आलोचनामा बढ़ी केंद्रित भयौँ  र असल व्यक्तित्वहरुको सकारात्मक चर्चा गर्न छोड़िसक्यौँ !
यधपी घुसपैठिया बाट सभापतिज्यूले जसरी आक्रमण भोग्नु परेकोछ र जस्तो आरोप, आशंका र परिस्थितिहरु देखिएका छन,अब उहाँले स्वेच्छापूर्वक नै नेतृत्वलाई ससम्मान युवा पुस्ता मा पुस्तान्तरण गरिदिनुहुन्छ भनि आशा गरिएको  छ ! उहाँले नेपाली कॉंग्रेसको लागि महत्वपूर्ण योगदान गर्नु भएको र प्रजातंत्र स्थापनाको लागि चरम यातना भोग्नु भएको बिर्सिनू हुँदैन ! उमेरको कारणले गर्दा पनि र उहाँ स्वयंले नै राजनीतिबाट सन्यास लिंन्छु भने कुरा घोषणा पनि गरि सक्नु भएको छ !
अर्को कुरा के छ भने विभिन्न सत्ता गठबंधनमा रहेको कारण नेपाली कॉंग्रेसले जनतामा सुशासन प्रवाह गर्न न सकेकोले जनता संग माफ़ी माग्दै आत्मआलोचना र आत्मचिंतनका साथ बीपी का अनुयायीहरुले राष्ट्रिय प्रजातंत्र र समाजवाद को सिद्धांत अनुरूप दृढ संकल्पका साथ एक्लै अगाड़ी आउनु पर्छ !

*  Gen-z का नेताहरूले देश परिवर्तन भयो भन्दैछन, यस सन्दर्भमा के भन्नुहुन्छ ?

कुनै पनि आन्दोलनले सत्ता परिवर्तन गर्छ, व्यवस्था परिवर्तन गर्छ र नेतृत्व परिवर्तन गर्छ ! देश परिवर्तन त व्यवस्थाले गर्ने हो ! नेपालमा अझै पनि उत्तम कोटिको मानिने संघिय लोकतान्त्रिक व्यवस्था छ ! प्रजातंत्र भन्दा राम्रो व्यवस्था त हुनै सक्दैन ! देश परिवर्तन यही व्यवस्था अनुसार हुने हो ! हाल लाई त देश विध्वंश भएको छ ! Gen-z युवाहरुको शांतिपूर्ण आंदोलनलाई षड़यंत्रकारी र घुसपैठियाहरु बाट हाईजैक गर्दै नेपाललाई विनाश गराइएको छ !
कारागार बाट कैदी भगाएकाछन, संसद भवन, सर्वोच्च अदालत, सिंहदरबार, अख्तियारको भवन लगायत देश भरिमा सैकडौ कार्यालय, सरकारी भवनहरु र हजारौँ सरकारी गाड़ीहरु जलाएकाछन,प्रहरी चौकी र कार्यालयहरु जलाईएका छन भने बन्दुक र वर्दीहरु लुटिएका छन, खर्बौको निजी लगानी, व्यवसाय र सम्पति जलाईएको र नष्ट पारिएकोछ र निजी क्षेत्रमा काम गरेर घर परिवार पाल्ने हजारौँ निर्दोष नेपाली बेरोजगार बनाईएकाछन भने सैकडौ निर्दोष नेपालीहरु जलाईएर मारिएकाछन ! उपद्रवीहरुले देशलाई पचास हज़ार करोड़ भन्दा बढ़ीको क्षति गरेकाछन र नेपाल लगभग बीस वर्ष पछाड़ी धकेलिएको छ !  यसलाई महाविनाश भन्नुपर्छ यदि परिवर्तन भनिएको छ भने म त्यसमा सहमत छैन  !

 *   अब नेपालको भविष्यलाई कसरी हेर्दैहुनुहुन्छ ?

सबभन्दा पहिले त सम्माननिय राष्ट्रपतिज्यूलाई नेपालीहरुले हृदयदेखि धन्यवाद दिनुपर्छ ! उहाँको अदम्य साहस र विशिष्ट सूझबूझको कारण नेपाल को संविधान जोगीएको हो ! होईन भने यो मुलुक गृहयुद्ध तर्फ पनि जान सक्थ्यो ! अर्को कुरा अहिले गठन भएको अंतरिम सरकार को काँधमा पनि महत्वपूर्ण जिम्मेवारी छ ! सब भन्दा पाहिले त देशमा शान्ति सुरक्षा व्यवस्थापन आवश्यक छ ! त्यसपछि सरकार, आन्दोलनकारी युवा पुस्ता, समाज र राजनीतिक दलहरु बिचको समन्वय र सद्भाव कायम गराउनु र संविधान सम्मत रहेर नियत समयमा चुनाव गराएर यो अंतरिम सरकारले देशलाई सफलतापूर्वक निकास दिनुपर्ने आशा राखेको छु !