अमरेश सिंह : “जेन–जि पुस्ताको बलिदान व्यर्थ जान दिनु हुँदैन”देश


अभूतपूर्व संकटमा फसेको बेला नेता डा. अमरेश कुमार सिंहले जेन–जि पुस्ताको आन्दोलनलाई “नयाँ नेपालको बीउ” भएको टिप्पणी गरेका छन्।
उनका अनुसार परिवर्तनको लागि सडकमा उत्रिएका युवाहरूको रगतले मुलुकलाई नयाँ दिशातर्फ धकेल्दै छ। “यो केवल विनाशको कथा होइन, यो नयाँ सुरुवातको संकेत हो। युवाले आहुति दिएको यो आन्दोलन न्याय, समानता र भविष्यको खोजी हो,” सिंहले भने।
गत तीन दिनयता फैलिएको आन्दोलनमा सयौं कार्यालय र गाडी खरानी बने, प्रहरी चौकी जले, जेलका ढोका भत्किएर कैदी फरार भए। अदालतमा रहेका महत्वपूर्ण प्रमाण समेत नष्ट भएको बताइएको छ। खर्बौं मूल्य बराबरको क्षति भोगिरहेको मुलुक अझै अन्यौलतामा छ। प्रधानमन्त्रीले राजीनामा दिए पनि समाधानको बाटो स्पष्ट देखिएको छैन।
तर सिंहका अनुसार निराश भएर बस्ने अवस्था छैन। “इतिहासले सिकाउँछ—विनाशपछि पुनर्निर्माण सम्भव हुन्छ। खरानीमाथिबाटै नयाँ नेपालको बीउ उम्रन सक्छ,” उनले भने।
राष्ट्रपति कार्यालयले यसबीच सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेको छ। कार्कीलाई सिंहले सफल कार्यकालको शुभकामना दिँदै जनताको आकांक्षा पुरा गर्न ध्यान दिनुपर्ने सुझाव दिएका छन्।
“यो केवल जेन–जि पुस्ताको आन्दोलन होइन, सम्पूर्ण नेपालीको साझा लडाइँ हो। अब जनता झुक्दैनन्। युवाको बलिदानले नै नयाँ नेपाल जन्माउनेछ,” सिंहले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

