महोत्तरी – नेपाली काँग्रेसका महासमिति सदस्य बजरंग नेपालीले पार्टीको वर्तमान नेतृत्वलाई असफल ठहर गर्दै तत्काल नयाँ पुस्ताको नेतृत्व चयन गर्नुपर्ने कडा माग गरेका छन्।

उनका अनुसार, नेपाली काँग्रेसले नेपालको राजनीतिक इतिहासमा सदैव लोकतन्त्रको मियोको भूमिका निर्वाह गर्दै आएको भए पनि पछिल्ला वर्षमा नेतृत्व तहमा देखिएको कमजोरीका कारण पार्टी र भुइँसतहका कार्यकर्ता तथा नागरिकबीच गहिरो अविश्वास बढ्दै गएको छ। उनले भने, “नेपाली काँग्रेसको संगठनात्मक जीवन्तता दिनानुदिन कमजोर बन्दै गएको छ। वर्तमान परिस्थितिको कठोर समीक्षा इतिहासले गर्ने नै छ।”

बजरंग नेपालीले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रजातन्त्रलाई संस्थागत गर्न पार्टीको शीर्ष नेतृत्वमा मूलभूत परिमाण विस्थापन (paradigm shift) आवश्यक भएको स्पष्ट पारे। उनका अनुसार, यो परिमाण विस्थापनको अर्थ भनेको वर्तमान सभापति शेरबहादुर देउवाको सभापतित्वलाई तत्काल खारेजी गर्दै संगठनलाई नयाँ ढाँचामा पुनर्गठन गर्नु हो।

उनले वर्तमान नेतृत्वलाई निरन्तरता दिने अवस्था अब बाँकी नरहेको बताउँदै काँग्रेसले पुस्तान्तरणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न ढिला गर्न नहुने उल्लेख गरे। “पार्टीको भविष्य नयाँ पुस्ताको काँधमा छ। अनुभवी, कार्यकर्तामुखी र जनतामाझ लोकप्रिय युवा पुस्ताको प्रतिनिधित्व गर्ने व्यक्तिलाई अविलम्ब कार्यबाहक सभापति बनाउनु आजको धरातलीय आवश्यकता हो,” उनले जोड दिए।

बजरंग नेपालीका अनुसार, पार्टीले युवा पुस्तालाई नेतृत्वमा ल्याउन सके लोकतान्त्रिक मूल्य, समानुपातिकता, सामाजिक न्याय र जनताको विश्वास पुनःस्थापना गर्न सक्नेछ। उनले जनताले अझै पनि काँग्रेससँग ठूलो अपेक्षा राखेको तर त्यसलाई वर्तमान नेतृत्वले पुरा गर्न नसकेको जिकिर गरे।