नवीन चौधरी , महोत्तरी– महोत्तरी को मनरा शिस्वा नगरपालिकाले चालू आर्थिक वर्षमा पालिका भित्रका सबै किसानलाई मालपोत करमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ।

विगत केही महिनादेखि वर्षा नहुँदा सिचाइमा गम्भीर समस्या उत्पन्न भएको भन्दै नगरपालिकाले किसानको पीडालाई मध्यनजर गर्दै श्रावण ७ गतेको कार्यपालिका बैठकबाट यस्तो निर्णय पारित गरेको हो।
नगरप्रमुख मोहन पाण्डेका अनुसार, “सिचाइको समस्या र मौसम प्रतिकूलताका कारण खेतीपातीमा प्रत्यक्ष असर परेकोले किसानलाई राहतस्वरूप मालपोत कर पूर्ण छुट दिने निर्णय गरिएको हो।”
यता पालिकाले गरेको यस्तो निर्णयलाई किसानहरूले स्वागत गरेका छन्।
मनरा शिस्वा का किसान रामशंकर साह भन्छन्, “सिचाइ नहुँदा धान रोप्न सकिएको छैन। बेलैमा यस्तो निर्णय गरेर पालिकाले हाम्रो पीडा बुझेको अनुभूति भएको छ।”
“हामीजस्ता साना किसानलाई मालपोत कर छुटले केही हदसम्म राहत मिल्नेछ। वर्षा नभए पनि कम्तीमा सरकार हाम्रो पक्षमा उभिएको महसुस भयो।”

नगरपालिकाले आगामी दिनमा राहत प्याकेज र वैकल्पिक सिचाइ योजनाबारे समेत छलफल भइरहेको जनाएको छ।